2009年11月1日日曜日

प्रशिक्षार्थी कामदार निर्देशिका जारी गरिने

नेपाल समाचारपत्र, (काठमाडौं) सरकारले प्रशिक्षार्थी कामदार जापान पठाउने प्रणालीसम्बन्धी कार्यविधि निर्देशिका जारी गरी जापानमा कामदार पठाउने प्रक्रिया अघि बढाएको छ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तयार गरेको उक्त निर्देशिका १० दिनभित्र जारी गरी जापान पठाउने कार्य अघिबढाउने गृहकार्य भइरहेको मन्त्री मोहमद अफताव आलमले जानकारी दिनुभयो। मन्त्री आलमले नेपाली प्रशिक्षार्थी कामदारलाई जापानमा रोजगारीमा पठाउन अवलम्बन गर्नुपर्ने प्रक्रिया स्पष्ट गरी मन्त्रालय र जापान इन्टरनेसनल ट्रेडिङ कोपअरेसन अर्गनाइजेसन (जिट्को) बीच सम्पन्न सम्झौतालाई कार्यान्वयनमा ल्याई सहकार्य अघि बढाइएको जानकारी दिनुभयो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार जापानमा कामदार पठाउने सम्बन्धमा आयोजित अन्तरक्रियामा श्रममन्त्री आलमले जापानमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा रहेको अन्योल निर्देशिका जारी भएपछि हट्ने बताउनुभयो। निर्देशिका जारी भएपछि नेपाली व्यवसायीलाई जापानमा गएर व्यवसाय प्रवर्द्धन गर्न ढोका खुल्ले उहाँले बताउनुभयो।

‘जापानमा नेपाली कामदार पठाउने प्रक्रियालाई मर्यादित बनाउनुहोस्’, मन्त्री आलमले जापानमा कामदार पठाउन छनोट भएका १ सय ७२ मेनपावर एजेन्सीलाई भन्नुभयो- ‘नेपाली कामदारलाई यस्तो काम दिन्छु, यति पैसा लाग्छ भनेर अनियमिता नगर्नुहोस्, यस्तो कार्य गर्नेलाई मन्त्रालयले कारबाही गर्नेछ।’

सरकारले जापानमा कामदार पठाउने कम्पनीले कति पैसा लिने र कम्पनीले कति धरौटी राख्ने भन्ने सम्बन्धमा मन्त्रालयले छिट्टै निर्णयगर्नेसमेत उहाँले जानकारी दिनुभयो।

केही दिनअघि मन्त्री आलमको नेतृत्वमा जापान गएको नेपाली टोलीले जापानमा नेपालीका लागि ‘केयर गिभर’ क्षेत्रमा हुन सक्ने मागको सम्बन्धमा समेत जापानी पक्षसँग छलफल गरेको थियो। सो अन्तरक्रियामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलकबहादुर रानाभाटले सरकारले निर्देशिका जारी गरी छनोट भएका कम्पनीलाई जापानमा बजार प्रवर्द्धन गर्न सहयोग गर्नुपर्ने बताउनुभयो।

रानाभाटले नीतिमा उल्लेख गरिएको रकम मात्र सेवा शुल्कका रूपमा कामदारबाट उठाउन व्यवसायीलाई अनुरोध गर्नुभयो। ‘सरकारका सबै नीति नियम व्यवसायीले मान्नेछन्। तर, जापानमा कामदार मागेमा सरकार जिम्मेवार हुनुपर्छ’ -रानाभाटले भन्नुभयो।

सरकारले जारी गर्न लागेको निर्देशिकामा जापान जान इच्छुक प्रशिक्षार्थीले नेपालको उद्योग मन्त्रालयअन्तर्गतका निकायमा दर्ता भएका औद्योगिक प्रतिष्ठान, उद्योग-व्यवसाय, कृषि, सहकारी, होटल, पर्यटन व्यवसाय, सेवा तथा वस्तु उत्पादन व्यवसायजस्ता क्षेत्रमा न्यूनतम दुई वर्षकाम गरेको हुनुपर्नेछ।
त्यसै गरी कृषिसम्बन्धी कामको निमित्त जान चाहने कामदारले सम्बन्धित उद्यम वा सम्बन्धित विषयको सहकारीमा काम गरेको हुनुपर्नेछ।

साथै जापानी भाषा तथा संस्कृतिका सम्बन्धमा न्यूनतम जानकारी भएको हुनुपर्नेछ। प्रशिक्षार्थीको उमेर १८ वर्षेखि ४० वर्षननाघेको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। जापानमा कामका लागि जाने नेपालीले तोकेको कार्यक्षेत्रभन्दा बाहिर भागेर काम गरेको पाइएकाले सरकारले अब जाने कामदारका लागि कडा नियम लागू गर्ने भएको छ।

जिट्कोअन्तर्गत जापान जाने नेपाली प्रशिक्षार्थी कामदारले समय सकिएपछि नेपाल र्फकनुपर्ने व्यवस्था कडारूपमा लागू गर्न र नियम उल्लंघन गर्नेलाई स्वदेश फर्केपछि कारबाही गरिने मन्त्रालयले जनाएको छ।

0 件のコメント: