[टिभीको हिट गीत]अखण्ड भण्डारी
यो लेख कान्तीपुर अनलाईनबाट लिएको हो ।
'तपाईंको फिल्मको गीत त टिभीहरूमा खुब बज्छ नि ?' प्रदर्शोन्मुख एक चलचित्रका निर्मातालाई मैले सोधें ।
'त्यो गीत होइन, पैसा बजेको हो !', हाँस्दै उसले भन्यो, 'बिहान मेरो गोजीमा एक लाख १६ हजार थियो, अहिले एक हजार मात्र बाँकी छ !'
'अरू के गर्नुभयो त ?', मैले जिज्ञासा राखें ।'सबै बाँडेँ', उसले सिधै भन्यो ।
'कसलाई ?', मलाई थप खुल्दुली लाग्यो ।
'टेलिभिजनका कार्यक्रम चलाउनेहरूलाई', उसले प्रस्टै पार्यो । 'विज्ञापन दिनुभयो होला नि ?', मैले अझै जान्न चाहेँ ।
'एक लाख १५ हजारमध्ये एक रुपैयाँको पनि बिल आएन', उसको उत्तर थियो, 'केको विज्ञापन हुनु ?'
उसको कुराले मलाई पुरानो एउटा घटना याद आयो । केही वर्षअघि मेरो एउटा साथी सरकारी टेलिभिजनमा मनोरञ्जनसम्बन्धी कार्यक्रम चलाउँथ्यो । नयाँ एल्बम निकालेको एउटा भाइले उसको कार्यक्रममा आफ्नो गीत बजाउने रहर देखायो । बुझ्न जाऊँ भनी करकर गर्यो । मैले उसलाई लिएर गएँ ।
'उहाँले भनेकाले तपाईंलाई विशेष छुट', त्यो साथीले मलाई देखाउँदै भाइलाई भन्यो, 'एकपटक गीत बजाएको तीन हजार मात्र दिए हुन्छ, अरूलाई पाँच हजार लिन्थेँ ।' उसको कार्यक्रममा दर्शकले मन पराएका भन्दै 'टप थ्री' गीत पनि बज्थे । उसले थप्यो, 'टप थ्रीमा पार्ने हो भने थ्रीको ५ हजार, टुको ८ हजार र वानको १५ हजार मात्र !'
'टप थ्री त दर्शकले मन पराएका आधारमा छानिने होइनन् र ?', मैले सोधें ।
'त्यसो गर्न थाल्यो भने जोगी भएर हिँडे हुन्छ !' उसले नधकाई भन्यो, 'त्यो त भन्ने पो त । कसैले पनि त्यस्तो गर्दैन । बरु यसरी बुझ्नुस् 'हाम्रो लोकपि्रय कार्यक्रममा बजाएपछि त्यो गाना पक्कै नम्बर वान हुन्छ !'
दाइको साथी भनेर पछि लागेको भाइ जिल्ल पर्यो ।
'कुनमा राखौं ?' बजारको किनुवा बिल अगाडि तेस्र्याएर त्यो साथी लेख्न ठिक्क पर्यो, 'नम्बर वान सधैं प्याक हुन्छ, भाग्यले यसपालि तपाईंलाई खाली रहेछ । ढिलो गर्नुभयो भने त्यो पनि उम्किन्छ, बरु बुक गरिहाल्ने कि ?'
भाइले मतिर हेर्यो । 'क्यासेट कम्पनीसँग सल्लाह गरेर आउँला', हामी फुत्कियौं । साथी भनेर गएको त डाँकाको अखडामा पुगेजस्तो लाग्यो ।
---------------------------------------
'अनि, भटमास छरेजसरी किन पैसा बाँड्दै हिँड्नुहुन्छ त ?', त्यो चलचित्रनिर्मातालाई मैले सोधें ।
'नदिएर के गर्नु ?' उसले बाध्यता सुनायो, 'फेरि अन्ठसन्ठ
रिपोर्ट बनाएर मार्केटै झिरिप् पारिदिन्छन् । बरु ८-१० हजार
फालिदिए, ढुक्क !'
------------------------------------------
विदेश बस्ने मेरो एउटा साथी केही महिनाअघि नेपाल आएको थियो । टेलिभिजनको अर्को सञ्चालक मित्रले एकाबिहानै फोन गर्यो । 'लौ न त्यो मान्छेलाई भेट्टाइदिनुपर्यो,' उसले भन्यो, 'उसको इन्टरभ्यु मेरो कार्यक्रममा धेरै राम्रो हुन्छ ।'
मैले त्यो साथीलाई सम्पर्क गरेर सोधें, 'तपाईं टेलिभिजनको एउटा कार्यक्रममा अन्तरवार्ता दिने हो ?'
ऊ तयार भयो । टेलिभिजनमा उसको अन्तरवार्ता बज्यो । ऊ विदेश फर्कियो । त्यसको केही दिनपछि कार्यक्रम सञ्चालकले इमेलमा लेखेछ, 'तपाईंको अन्तरवार्ता लिने क्रममा क्यामेरा, क्यामेराम्यान, लाइट, स्टुडियो आदिलाई तिर्दा २० हजार रुपैयाँ खर्च भएको छ, कृपया तलको खातानम्बरमा उपलब्ध गराइदिनुभए आभारी हुने थिएँ ।'
खातामा २० हजार रुपैयाँ बराबरको विदेशी मुद्रा हालिसकेपछि उसले मलाई फोन गर्यो, 'हाम्रो देशको चलन साह्रै नराम्रो लाग्यो । आइन्दा मलाई अन्तरवार्ता लिने मान्छे नभेटाइदिनुहोला ।'
'किन, के भयो र ?' मैले सोधें । उसले घटनाविवरण सुनायो । मलाई पो साह्रै लाज लाग्यो ।
-------------------------------------------
नेपालमा एकपछि अर्को गर्दै टेलिभिजन खुलेपछि मनोरञ्जन क्षेत्रका स्रष्टाहरू खुसी भएका थिए, यसकारण कि उनीहरूका सिर्जना बज्ने ठाउँ छानीछानी भए । अहिले उनीहरू भन्छन्, 'टिभीमा नदेखाए एल्बम बिक्दैन, देखाउन पैसा नभई हुँदैन ।' उनीहरूलाई पैसा तिराउने अर्को ठाउँ छ- म्युजिक भिडियो । अधिकांश टिभीका धेरैजसो मनोरञ्जन कार्यक्रम सञ्चालक म्युजिक भिडियो निर्देशक बनेका छन् । ती कार्यक्रममा बजाउन उनीहरूलाई नै म्युजिक भिडियो बनाउन दिनुपर्ने बाध्यता बढेको गीतसंगीतकर्मीको गुनासो छ ।
'त्यही कारण जति रेट भने पनि तिर्न बाध्य छौं', एक पुराना संगीतकर्मी भन्छन्, 'त्यो फेरि अरूले बजाइदिँदैनन्, जताबाट पनि समस्यै समस्या ! कुन कार्यक्रम सबैभन्दा लोकपि्रय छ, त्यसमा बजे पुग्छ भन्ने ठानेर लगानी गर्नुपर्ने अवस्था छ ।' समय यस्तो आएको छ- पैसा पेल्न नसक्ने जति गतिलो वा पुरानो संगीतकर्मी किन नहोस्, पाखै लाग्छ । पैसा खोलो बगाउने नम्बर वान र हिट् हुन्छ ।
यसको आशय सबै टिभीका सबै कार्यक्रम यस्ता छन् भन्ने होइन । टेलिभिजन व्यवस्थापनको दोष पनि होइन यो, व्यक्तिविशेषको हो । कतिले त टिभीमा समय किनी यस्तो च्याँखे थापेका छन् । कति कार्यक्रम 'मुर्गा' खोज्नै उत्पादन गरिएका छन् । यसले मिडिया र सञ्चारकर्मीको बदनाम भइरहको छ । त्यसैले जजसले यस्तो खेतीपाती गरिरहेका छन्, उनीहरूलाई मेरो आग्रह छ कि विज्ञापन दिनुस् वा प्रायोजित भन्नुस्, पैसाको भरमा सिर्जनाको स्तर तलमाथि नगरिदिनुस् ।
२१ सताब्द्वीका साहित्यकार,कलाकार , मोडेलहरुको लागि किन फजुल पैसा खर्च गर्ने त । सुन्न लायकको, हेर्न लायकको फिल्म बनाए पो निर्माता , पैसाको बल मै निर्माता , यौबनको लिलाम गरेर हिरोइन बन्ने भए पछि जो सुकै ले पनि आफ्नो आफ्नो कार्यक्षेत्रबाट फाइदा त उठाइहाल्छ । बिदेसमा बस्ने फताहाको के को अन्तर्वार्ता हो नी ।