2010年10月26日火曜日

१० महिनामा १० जना मात्र जापान

काठमाडौ, कार्तिक ९ - जापानमा कामदार पठाउन म्यानपावर कम्पनीलाई अनुमति दिएको एक वर्ष पुग्नै लाग्दा १० जना कामदार मात्र त्यता गएका छन् । कामदार पठाउने प्रक्रिया सुरु हुँदा जापान इन्टरनेसन टे्रनिङ कअपरेन अर्गनाइजेसन (जिट्को) ले सन् २०१० मा नेपालले २० हजार औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन सक्ने अनुमान गरेको थियो ।
सरकारले नेपाल उद्योग वाणिज्य महासंघबाहेक १ सय ७१ म्यानपावर कम्पनीलाई जापानमा प्रशिक्षार्थी कामदार पठाउन अनुमति दिएको छ । त्यसमा हालसम्म १३ वटा कम्पनीले मात्र कामदारको माग ल्याएका छन् ।

कामदार पठाउन अन्तिम स्वीकृति लिने कम्पनी सिद्धार्थी बुद्ध ओभसिज हो । यसले विभिन्न बेकरी र कृषि क्षेत्रमा त्यो माग ल्याएको हो । जसमा २ जना पुरुष र ८ महिला छन् । 'हालसम्म एक कम्पनीले १० जना कामदार पठाउन अन्तिम स्वीकृति लिएको छ,' वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने, 'हालसम्म १३ कम्पनीले माग ल्याएका छन् ।' उनीहरूले ३ सय ३१ कामदारको माग ल्याएका हुन् ।

उनले यो संख्या सोचेभन्दा धेरै कम भएको बताए । 'समय सकिन २ महिना मात्र बाँकी छ,' सापकोटाले भने, 'कसरी धेरै कामदार जापान पठाउने भनेर छलफल सुरु गरेका

छौं ।' जापान कामदार पठाउन व्यवस्था गरेको नेपाली औद्योगिक प्रशिक्षार्थी तथा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका' मा व्यवस्था भएअनुसार अब बाँकी रहेका १ सय ५८ वटा कम्पनी खारेज हुने भएका छन् । 'अहिलेको व्यवस्था अनुसार एक वर्षसम्म कामदारको माग नल्याउने म्यानपावर कम्पनीको जापान पठाउने अनुमति खारेज हुनेछ,' सापकोटाले भने, 'डिसेम्बरसम्म माग ल्याउने कम्पनीले अर्को वर्ष पनि कामदार पठाउन पाउँछन् ।'
जापानका रोजागरदाता कम्पनीको माझ नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीहरूले राम्रो बजार प्रवर्द्धन गर्न नसकेकाले कामदार अत्यन्तै न्यून मात्रामा गएको उनले बताए । 'म्यानपावर कम्पनीले राम्रो बजार प्रवर्द्धन गर्न सकेका छैनन्,' उनले थपे, 'भाषाको समस्या एक प्रमुख कारण हो ।' उनले म्यानपावर कम्पनीले अंग्रेजी बोल्ने तर जापानीले त्यो नबुझ्ने भएकाले समस्या आएको बताए । यस्तै सरकारले पनि बजार प्रवर्द्धन गर्न श्रम कूटनीतिमा प्रभावकारी भूमिका निभाउन नसकेको उनको भनाइ छ । यस्तै यस अवधिमा जापानमा देखिएको आर्थिक संकट, अन्य मुलुकमा भन्दा कडा प्रक्रियालगायत कारण कम नेपाली जापान पुगेको बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले प्रभावकारी बजार प्रवर्द्धन गर्न नसक्दा र लामो प्रक्रिया भएकाले न्यून कामदार गएका बताए । 'लामो कागजी प्रक्रियाका कारण जापानमा कामदार पठाउन ६ देखि ७ महिनासम्म लाग्छ,' खनालले भने, 'जापानमा कामदार पठाउँदा राम्रो फाइदा हुँदैन । तैपनि हामी भविष्यमा जापानीमाझ लोकपि्रय बन्ने उद्देश्यले काम गरिरहेका छौं ।'

२६ कामदारको माग ल्याएको फ्युजन इन्टरनेसनलका प्रबन्ध निर्देशकसमेत रहेका खनाल यस वर्षभित्र कामदार पठाउने काम पूरा गर्नमा ढुक्क छैनन् । उनले चार महिनाअघि माग लिएका थिए । सरकारले दस महिनाअघि म्यानपावर कम्पनीलाई पनि जापान कामदार पठाउन खुला गर्दा ५० हजार रुपैयाँ प्रवर्द्धन शुल्क लिन पाउने व्यवस्था गरेको थियो । कतिपय म्यानपावर कम्पनीले कम शुल्कमा गाह्रो मानिएको काम गर्नुपर्ने भएकाले पनि जापान कामदार पठाउन उल्लेख्य चासो नदेखाएको जानकारहरूको भनाइ छ ।
जापानमा प्रशिक्षार्थी कामदार पठाउन ल्याइएको निर्देशिकामा जाने कामदारसँग कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्छ ।

0 件のコメント: