2009年11月20日金曜日

कलेज जाने बहानामा अनैतिक काम

देवबहादुर कुँवर

काठमाडौँ, मङ्सिर ३ गते । साथीको 'बर्थ डे' छ भन्दै अनेक बहाना रचेर घरबाट निस्कने तपाइँका छोराछोरी कहाँ जान्छन् केही हेक्का राख्नुभएको छ ? यदि छैन भने उप्रान्त ख्याल गर्नुहोस् । तपाइँसँग जेसुकै भने पनि उनीहरूको दिनचर्या फरक हुनसक्छ ।

कलेज, कम्प्युटर, ट्युसन तथा साथीभाइ भेटघाटको बहानामा घरबाट निस्कने कतिपय युवकयुवती राजधानीका गेस्टहाउस तथा होटलहरूमा अश्लील क्रियाकलापमा संलग्न रहेको अवस्थामा प्रहरीको फन्दामा पर्न थालेका छन् ।

महानगरीय प्रहरी प्रभाग सोह्रखट्टेले गोँगबु नयाँबसपार्क, गल्कोपाखा र ठमेललगायतका विभिन्न क्षेत्रका होटल तथा गेस्टहाउसबाट मात्र एक दर्जन जोडीलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने युवकयुवती १० जोड २ तथा क्याम्पसमा अध्ययनरत किशोर किशोरी हुने गरको प्रहरी प्रभागले जनाएको छ ।

यस्ता किशोर किशोरीले रातिको समयमा रक्सी खाएर होहल्ला गर्ने गरेका कारण अन्य सर्वसाधारणले नै प्रहरीलाई फोन गरी सुराकी दिने गरेको स्पष्ट पार्दै प्रहरी सहायक निरीक्षक तारा विक भन्नुहुन्छ, सुरुमा श्रीमान्श्रीमती हुँ भनेर दाबी गर्ने यस्ता जोडीहरू अनुुसन्धान गर्दै जाँदा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड हुन्छन् ।

राजधानीका धेरैजसो कलेजमा अध्ययन गर्ने युवकयुवती बर्थ डेका नाममा अभिभावकलाई ढाँटेर गेस्टहाउसमा र बिहानपख कलेज जान्छु भन्दै अन्यत्रै घुम्न जाने गरेको गुनासो अभिभावकले प्रहरीसामु पोख्ने गरेको उहाँले बताउनुभयो । बुधबार राति बसपार्कस्थित रुप्सी गेस्टहाउसबाट पद्मकन्या क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत युवतीहरूलाई पक्राउ गरिएको जानकारी उहाँले दिनुभयो ।

स्थायी घर सुर्खेत बताउने ती युवतीलाई बस चालकसँग रमाइलो गरिरहेको अवस्थामा पक्राउ गरिएको र एक अर्को जोडीलाई आजै बिहान विष्णुमती खोला किनारामा मिनीस्कर्ट लगायकै अवस्थामा अश्लील क्रियाकलाप गर्दै गरेको बेला पक्राउ गरिएको प्रभागका प्रहरी निरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो ।

ती युवतीहरूले आफूसँग पक्राउ परेका केटाहरू आफ्नो ब्वाइफ्रेन्ड भएको बताएका छन् केटाहरूले पनि गर्लफ्रेन्ड भनेका छन् । पिपुल्स क्याम्पस पकनाजोलको युनिर्फम र विद्यार्थी कार्ड बोकेको एक जोडीले आफूहरूले यस्तो कार्य धेरै अगाडिदेखि गर्दै आएको बताएको छ ।

होटलमा गएपछि प्रहरीले पक्राउ गर्ने डरत्राससँगै बिहानको समयमा कसैले नदेख्ने गरी विष्णुमती खोला किनारा पुगेको बताउने त्यो जोडीले अश्लील कार्य गर्नेक्रममा सर्वसाधारणको आँखा छल्न नसकेको स्वीकारेको छ । उनीहरूलाई सख्त चेतावनी दिँदै अबका दिनमा सार्वजनिक ठाउँमा त्यस्तो अश्लील कार्य नगर्ने सर्तमा दिउँसो रिहा गरिएको प्रनि कुँवरले बताउनुभयो ।

विष्णुमती खोला किनारा र म्हेपी मन्दिर जङ्गलमा हुने क्रियाकलप नियन्त्रणका लागि स्वयं स्थानीयवासीले प्रहरी कन्ट्रोलमा फोन गरी जानकारी दिने गरेका छन् । सोही सूचनाका आधारमा प्रभागबाट खटेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कलेजको डे्रसमा सजिएका यस्ता किशोर किशोरी बिहान बेलुका सार्वजनिक ठाउँमा र राति गेस्टहाउसमा भेटिने गरेको जानकारी पनि उहाँले दिनुभयो ।

कतिपय होटलमा छापा मार्न जाँदा विभिन्न क्याम्पसको कार्डसमेत बरामद हुनुका साथै पक्राउ परेका युवकयुवतीको झोला चेकजाँच गर्दा क्याम्पसको डे्रससमेत बरामद हुने गरेको प्रहरीले जनाएको छ । अभिभावक पनि आफ्नो छोराछोरीको यस्तो क्रियाकलापप्रति त्यति सचेत नहुने गरेको पाइएको छ ।

साँझ बर्थ डे र बिहान तथा दिउँसो कलेज तथा ट्युसनको बहानामा घर बाहिर जाने कतिपय युवकयुवतीहरू रमाइलो गर्न गेस्टहाउस जाने गरेको पाइएको छ । रमाइलो गर्ने क्रममा बियर तथा रक्सी खाने र एकआपसमा झगडासमेत गर्ने गरेको अवस्थामा समेत त्यस्ता जोडीहरूलाई प्रहरीले पक्राउ गर्ने गरेको पाइएको छ ।

यसरी, पक्राउ परेका युवकयुवती सम्झाइबुझाई अभिभावकको जिम्मा लगाउनेक्रममा प्रहरीले सबै पोल खोलेपछि अभिभावकहरूले आफ्नो सन्तानले गर्ने क्रियाकलापप्रति सचेेत हुने गरेका छन् । म्हेपीका गोपालमान श्रेष्ठ भन्नुहुन्छ, जागिर खाने कि छोरीछोरीको गोठालो लाग्ने, अभिभावकले ध्यान दिन नसकेका कारण यस्तो समस्या आएको हो ।

प्रहरी प्रभाग सोह्रखुट्टेले यो दुई हप्तामा मात्र एक दर्जन जोडीलाई पक्राउ गरिसकेको छ ।

0 件のコメント: