2010年1月18日月曜日

भात खाने मुखले जे पनि खान्छ भात नखाने मुखले के खान्छ ? कुरो बुझ्नु तुरुन्तै घरतिर कुदनु ।

तलको समाचार माघ गतेको कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई शिर्षक मात्र फेरेर यस ब्लगमा राखेको छु
रेमिटान्सले पत्नी खुसी हुँदैनन् !
काठमाडौ, २०६६ माघ ४ -
पति कमाउन विदेश जाने तर यताचाहिं पत्नीले अर्कैसँग बिहे गर्ने प्रवृत्ति बढ्दै गएको छ । साउनयता महानगरको कानुन महाशाखामा दर्ता भएका सम्बन्धविच्छेदका अधिकांश मुद्दामा यस्तै विषयमा दर्ता भएका छन् ।

पत्नीबाट पीडित भई सम्बन्धविच्छेदका लागि दर्ता भएका ३० वटा मुद्दामध्ये अधिकांश वैदेशिक रोजगारसँग जोडिएका छन् । महाशाखाका अनुसार भर्खरै बिहे गरी रोजगारीका लागि जापान बसेका सामाखुसीका एक युवकले १२ वर्षको सम्बन्धपछि रेमिटान्सले जोडेको घरजग्गा मात्रै होइन, पत्नी र छोरो पनि गुमाउनुपर्‍यो । उनीसँग यतिबेला बिहेपछि २/४ पटकमात्रै बसेको सम्झना र केही तस्बिरबाहेक अरू केही रहेन ।

महाशाखाका कानुन अधिकृत वसन्त आचार्यका अनुसार युवकले काठमाडौं पुग्नुभन्दा अघिल्लो दिन फोनबाट मायालु लवजमा एयरपोर्टमा लिन आउने वाचा गरेकी पत्नीले आवारा परिचालन गरी निर्ममतापूर्वक कुटलन् भन्ने कल्पना गरेका थिएनन् । तर यस्तै दुःखदायी घटना भयो । प्रेम सम्बन्धपछि मागीबिहे गरेका उनले पत्नी र उनले परिचालन गरेका कुटाइ खानुपर्‍यो ।

विदेश बसेर दैनिक पत्नीसँगँ मोबाइल र च्याटमार्फत संवाद गरिरहने युवकले यता त पत्नी अर्कै केटासग बिहे गरी बसेको भेटे । सामाखुसीको घरमा जब उनी पुगे त्यहा अर्कै केटो फेला पर्‍यो । टोलका छरछिमेकले वास्तविक पति देखेपछि चकित बने । कुटाइबाट पीडित बनेका उनी अन्तमा दसी जुटाउन लम्जुङको ससुराली पुगी ससुरालाई ल्याए । कन्यादान गरी बिदाइ गरिएकी युवतीका बुबाले सामाखुसीमा छोरीको सम्बन्ध अर्कैसँग देखेर मुर्छा परे । आफ्ना तर्फबाट छोरीसँगको नाता टुटेको घोषणा गरी उनले वास्तविक ज्वाइँसँग माफी मागे ।

महानगरमा मेलमिलाप हुन नसकेपछि यो मुद्दा अन्तमा काठमाडौं अदालतमा सम्बन्धविच्छेदका रूपमा टुंगियो । महाशाखाका अधिकृत शरदबाबु पाण्डेका अनुसार युवकले सामाखुसीको घर छोरा, पत्नी र आफ्नो गरी तीन भागमा बाँडे र अर्को बिहे गरे ।

यो एउटा नमुना घटना हो । बेलायत, अस्ट्रेलियालगायत खाडी मुलुकमा धन कमाउन गएका केही युवकले पनि काठमाडौंमा रहेकी पत्नीले रेमिटान्स सकेर अर्कै युवकसँग सम्बन्ध बाँधेको प्रमाण जुटाई महानगरमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । अधिकांश युवकले पत्नीसँग अर्कै पुरुषले अंकमाल गरेका नग्न अवस्थाका तस्बिर र भिडियोसहितका प्रमाण बुझाएका छन् । महानगरमा वाषिर्क सरदर ५० मुद्दा दर्ता हुन्छन् । यसमा पत्नीको आचरणका कारण अलग्गिने पतिको संख्या बढी छ ।

कानुनले महिलालाई पतिसँग सम्बन्धविच्छेद गर्नुपरे सोझै अदालत जाने बाटो खुला गरेको छ तर पुरुषहरूले पत्नीसँग अलग हुनुपरे स्थानीय निकायमा मुद्दा दर्ता गनर्ुपर्छ ।

९ वर्षदेखि महानगरमा पीडित पतिका मुद्दा मेलमिलाप गराउने जिम्मा पाएका कानुन अधिकृत आचार्यका अनुसार पछिल्ला दिनमा पत्नीपीडित पतिको संख्या बढ्दो

छ । 'सुरुका वर्ष पत्नीहरू पीडित देखिन्थे, अहिले पीडित पति बढी छन्,' उनले भने ।

महानगरका कानुनी सल्लाहकारसमेत रहेका आचार्यका अनुसार यस्ता मुद्दामा अधिकांश पत्नीलाई एक्लै छाडेर विदेश भासिएका पति बढी छन् । त्यसैगरी अधिकाशं मुद्दा अन्तरजातीय मागी/प्रेम बिहेमा आधारित छन् । त्यस्तै ९ वर्षअघि सम्बन्धविच्छेद गराउने ज्वाइँ सम्मानपूर्वक अलगिन्थे तर अहिले महानगर मुद्दा दर्ता गराउने 'ज्वाइँसाप' माथि मेलमिलाप केन्द्रभित्रै आक्रमण र दुव्र्यवहार हुन्छ ।

कानुनी अधिकृत आचार्य पति र पत्नीबीच गाँस, बास, कपासबाहेक सहबास पनि अति आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, 'पति र पत्नीबीच दिनको एकपटक शारीरिक भेट अति आवश्यक छ,' उनले थपे, 'पत्नीलाई स्वदेशमा छाडेर दैनिक फोन र च्याट गर्दै महिलाको मनोवैज्ञानिक आवश्यकता पूर्ति हुँदैन ।'

प्रेमी र प्रेमिकाको हकमा पनि यो नियम लागू हुन्छ तर बिहेपछि पत्नीलाई एक्लै छाड्नु झन् खतरा रहेको उनको भनाइ छ । नौ वर्षे अनुभव सुनाउँदै उनले आइतबार कान्तिपुरलाई भने, 'पत्नीको यौनमनोविज्ञानलाई सम्मान नगर्नेको घर बिग्रेको छ ।'